सांसद चौधरीले देउखुरी क्षेत्रका स्वास्थ्य संस्था र सुरक्षाकर्मीलाई बाँडे स्वास्थ्य सामाग्री

भालुवाङ,दाङ प्रतिनिधि सभा सदस्य सांसद मेटमणी चौधरीको सचिवालयले बिहीबार देउखुरी क्षेत्रका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको नेतृत्वमा खटिएको टोलीले देउखुरीका विभिन्न स्थानमा पुगी कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई माक्स, पंजा, सेनिटाइजर प्रदान गरेको छ ।

जस अनुसार वडा प्रहरी कार्यालय लमही, इलाका प्रहरी कार्यालय भालुबाङ, इलाका प्रहरी कार्यालय गढवा, अस्थायी प्रहरी पोष्ट नर्ती, प्रहरी चाैकी सिसहनिया, प्रहरी चाैकी गोबर्डिहा, सिसहनिया स्वास्थ्य चाैकी,भालुबाङ स्वास्थ्य चाैकी, गढवा स्वास्थ्य चाैकीमा सो सामाग्री प्रदान गरिएको हो । साथै लमही नगरपालिकाका भित्रका अति बिपन्न १५ घरलाई खाद्यान्न बितरण समेत गरिएको छ । खाद्यन्नको सहयोग लमहीको नेहाल मोबाईल सेन्टरका प्रो. कमल गुप्ताले गरेका थिए ।

सामाग्री वितरण गरिएका कार्यालयका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका समस्याका बारेमा पनि गम्भीर छलफल भएको थियो। देउखुरीका अन्य स्थानका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई पनि सुरक्षा सामाग्री क्रमश: वितरण गरिने जनाइएको छ। यसै बिच प्रतिनिधि सभा सदस्य चौधरीकै उपस्थितिमा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ जिल्ला कार्य समिति दाङका अध्यक्ष जगतराम चौधरीले राप्ती गाउँ पालिकामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गर्न १ लाख रकमको चेक हस्तान्तरण गरेका छन् ।

सहयोग रकम १ लाखको चेक गाउँ पालिका अध्यक्ष नुमानन्द सुबदीलाई हस्तान्तरण गरेका हुन। यसै सिलसिलामा चौधरीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा )को लमहीमा रहेको भवनमा लमही नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनको पनि अवलोकन तथा निरिक्षण गरेका थिए ।