एक हप्ताको जुहारीपछि १८१ जनालाई राखियो दशगजा ‘क्वारेन्टाईनमा’

नेपालगन्ज, बाँकेको सिमानाकामा अलपत्र परेका १८१ जना नेपालीलाई एक हप्ताको जुहारीपछि  दशगजा ‘क्वारेन्टाईनमा’ राखिएको छ । बिगत एकहप्तादेखी नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित नेपाल-भारत सिमाको दशगजा क्षेत्रमा अलपत्र परेका १८१ जनालाई दशगजा क्षेत्रमै ब्यवस्थापन गरीएको हो ।

नेपाली सेनाले दशगजा क्षेत्रमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा उनिहरुलाई राखिएको नेपालगन्ज भन्सारका शसस्त्र प्रहरीका डिएसपी  नबराज बाेहराले जानकारी दिए ।  दुबै देशका नागरिकलाई अहिले रहेकै स्थानमा ब्यवस्थापन गर्ने नेपाल र भारत सरकारबिचको दुईपक्षिय सम्झौता अनुसार उनिहरुकालागि दशगजा क्षेत्रमै कवारेन्टाईन निर्माण गरीएको बाेहराले भने।

क्वारेन्टाईनमा राखिएका ब्यक्तिको स्वास्थ्य परिक्षण गरी चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखीने उनले जानकारी दिए । यद्यपी कहिलेसम्म क्वारेन्टाईनमा राख्ने भन्ने विषयमा भने अहिलेनै केही भन्न नसकिने बताइएकाे छ   ।

निश्चित समयकालागि बहराइच जिल्लाको नानपारामा स्थापना गरिएको भारतीय क्वारेन्टाइनमा राख्ने सहमति भएपनी सिमानाकामा अलपत्र नेपालीहरु त्यहाँ जान नमानेपछि दशगजामै क्वारेन्टाईन निर्माण गरीएको ५ नं. प्रदेशका साँसद तथा नेकपा बाँकेका सांसद आईपि खरेलले जानकारी दिए ।  सिमानाकामा अलपत्र परेका नेपालीहरुको उद्धार तथा ब्यवस्थापनमा सुरुवाती दिनदेखी नै सक्रिय रहँदै आएका खरेलले दशगजामै भएपनि क्वारेन्टाईन निर्माण गरी नेपालीहरुलाई सुरक्षित राख्ने प्रयास गरीएको बताए ।

नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको पहल तथा नेपाली सेनाको सहयोगमा दशगजास्थित सुख्खा बन्दरगाह क्षेत्रमा अस्थायी क्वारेन्टाईन निर्माण गरीएको छ  ।

क्वारेन्टाईनमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन ।