कोरोना महामारीः इटाली र स्पेनमा अझै पनि भयावह अवस्था !

तर संक्रमण दर भने कम

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बढी प्रभावित भएका देश हुन् इटाली र स्पेन । युरोपका यी दुई देशमा गरेर २२ हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गइसकेको छ । पछिल्लो केही दिनयता स्पेनमा मृत्यु हुनेको संख्या लगातार बढ्दो क्रममा छ । इटालीमा संक्रमण र मृत्युदर केही कम भए पनि भयावह नै रहेको छ ।

पछिल्लो २४ घण्टामा स्पनेमा ९२३ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३८७ पुगेको छ । ८ हजार १९५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या स्पेनमा एक लाख चार हजार ११८ पुगेको छ ।

यस्तै इटालीमा पछिल्लो २४ घण्टामा थप ७२७ जनाको ज्यान गएपछि कोरोना भाइरसका कारण देशमा ज्यान गुमाउनेको कुल संख्या १३ हजार १५५ पुगेको छ । नयाँ संक्रमित चार हजार ७८२ थपिएपछि इटालीमा संक्रमितको संख्या एक लाख १० हजार ५७४ पुगेको छ ।

इटाली र स्पेनमा भन्दा अमेरिकामा दोब्बर संक्रमित छन् । अमेरिकामा अहिलेसम्म दुई लाख १४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ र मृत्यु हुनेको संख्या पाँच हजार ९९ पुगेको छ । गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको चीनमा भने पछिल्लो केही दिनयता संक्रमण तथा मृत्यु हुनेको संख्या थपिएको छैन । चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५५४ र मृत्यु हुनेको संख्या ३३ सय १२ रहेको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १८९ जनाको ज्यान गएको छ । यस्तै अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९ लाख ३५ हजार ११४ रहेको छ । यसैगरी अहिलेसम्म एक लाख ९३ हजार ९८९ जना निको भएर घर फर्किएका छन् ।