दाङको गढवामा एक किशोरीको रहस्यमय मृत्यु

भालुवाङ, दाङको देउखुरीमा एक किशोरीको मंगलबार बिहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी संदिप रानाकी श्रीमती १६ वर्षिय सपना श्रेष्ठले आफ्नै घरको कोठामा सलले पासो लगाएर आत्महत्या गरेको देखिए पनि माइतीपक्षले ज्वाईले मारेर झुण्डाएको आरोप लगाएका छन् ।

गत फागुन ५ गते उनीहरूको प्रेम विवाह भएको थियो । मंगलबार बिहान ११ बजेको समयमा किशोरीको आफ्नै सुत्ने कोठामा रहस्यमय तरिकाले मृत्यु भएको बताइएको छ । मृतक किशोरीका श्रीमानले भने आफुले केही पनि नगरेको बताएका छन् । भने किशोरीका माइती पक्षले ज्वाईले छोरीलाई पिट्ने,गाली गर्दै आएको र लागु औषध सेवन गर्ने गरेका कारण पनि मारेर झुन्डिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय गढवाले भने मृतक किशोरीको शारीरिक अवस्था र प्रकृति हेर्दा आत्महत्या गरेको हुन सक्ने बताएको छ । तर वास्तविक घटना विवरण भने पोष्टमार्टम भएर मेडिकल रिपोर्ट नआउदा सम्म केही भन्न नसकिने बताएको छ । माइती परिवारले संदिप विरूद्व किटानी जाहेरी दिने बताएका छन् । मृतक किशोरीको लमही अस्पतालमा पोष्टमार्टम गरिएको छ ।