दुवईमा आठ र स्पेनमा सात नेपालीमा कोरोना संक्रमण

पोर्चुगलमा गर्भवतीसहित एक बच्चा र आठ नेपालीमा संक्रमित

काठमाडौं,  पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए । सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको सङ्क्रमण देखिने नेपालीको संख्या नौ पुगेको छ । पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरेका छन् । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन् ।

यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) र स्पेनमा रहेका थप नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा थप दुई नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । दुवईमा हालसम्म आठ नेपाली कामदारमा कोरोना संक्रमण देखिइसकेको छ । को संख्या आठ पुगेको छ । मंगलबार थप दुई जनामा संक्रमण देखिएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दुई नेपालीसहित ५३ जनामा संक्रमण देखिएको जानकारी दिइएको छ । ५३ जनामध्ये ३१ जना भारतीय छन् । यूएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । साथै थप एक जनाको मृत्यु भएको छ । अहिलेसम्म युएईमा मृत्यु हुनेको संख्या ६ पुगेको जनाइएको छ ।

आठ जना नेपालीमध्ये दुई जना निको भएर काममा फर्किसकेका छन् । ६ जना नेपालीको अवस्था स्थिर छ । नयाँ संक्रमितमध्ये अधिकांश संक्रमित व्यक्तिको सम्पर्कमा गएकाहरु रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यता स्पेनमा थप तीन नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि चार जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या सात पुगेको छ । दुई जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले जानकारी गराएका छन् ।

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा दुई जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा एक जना र हस्पिटल दे मारमा एक जनाको उपचार भइरहेको छ । बिगत चार दिनयता नयाँ तीन जना संक्रमितहरु थपिएका हुन् । उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन् । संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन् ।

एक सातादेखि आईसीयूमा उपचार गराइरहेका एक नेपालीको स्वास्थ्यमा भने सुधार आएको छ । एनआरएनए स्पेनका पूर्व अध्यक्ष भिष्मकुमार गुरुङ (अनिल) ले दिएको जानकारी अनुसार उनलाई मंगलबारदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ । स्रोतका अनुसार संक्रमितहरु ६ वटा छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए ।

स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ ।

गत १४ मार्चदेखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । मंगलबारसम्म ९४ हजार ४१७ जना संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयले ८ हजार १८९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर झण्डै २० हजार मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।