महामारी कोरोनाबाट इटालीमा एकैदिन ८ सय ३७ मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७ जनाले ज्यान गुमाएका छन् । यो सँगै इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ५३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १५ हजार ७ सय २९ जना उपचारपछि निको भएका छन् । ४ हजार २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७७ हजार ६ सय ३५ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।