बेलायतमा कोरोनाबाट एकैदिनमा ३९३ जनाको मृत्यु

लन्डन, संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हालसम्मकै उच्च मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३९३ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा मृत्यु हुनेको संख्या एक हजार ८०१ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २५ हजार १५० पुगेको छ । १३५ कोरोना संक्रमितलाई उपचारपछि घर पठाइएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई र स्वास्थ्य मन्त्री म्याट हानकक र बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको छ । विश्वभर कोरोना संक्रमितको संख्या करिब ८ लाख पुगेको छ भने ३९ हजारलाई कोरोना संक्रमितको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित छन् भने इटालीमा अहिलेसम्मकै उच्च मृत्यु भएको छ । अमेरिकामा एक लाख ६५ हजार कोरोना संक्रमित छन् भने इटालीमा ११ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । स्पेनमा कोरोना संक्रमणबाट आज अहिलेसम्मकै बढी ८४९ को मृत्यु हुँदै जम्मा ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । – बीबीसी