वडाध्यक्ष अधिकारीद्वारा २ महिनाको सेवा सुविधा नागरिक राहत कोषमा जम्मा गर्ने घोषणा

दाङ देउखुरीको गढवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले आफ्नो २ महिनाको सेवा सुविधा कोरोना नागरिक सुरक्षाकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक अकाउन्ट मार्फत कोरोनाविरुद्ध लड्न नागरिकलाई सहयोग स्वरूप बिहीबार २ महिनाको सेवा सुविधा नागरिक कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्न जनप्रतिनिधिको हैसियतले मेरो तर्फबाट समग्र देउखुरी बचाउनलाई यस महामारी र संकटको घडीमा मेरो २ महिना बराबरको सेवा सुविधा नागरिक सुरक्षा कोषमा जम्मा गर्ने प्रतिवद्दता गर्दछु उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्। साथै उनले सबै जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई नागरिक सुरक्षा कोषमा रकम जम्मा गर्न पनि अनुरोध गरेका छन् ।

वडा अध्यक्ष अधिकारी सँगै केही सरोकार राख्ने नागरिकहरूले यो कोष खडा गरेका छन् । कोरोना विरुद्ध लड़न गरिव दिनदुखीहरूलाई सहयोग गर्न तथा आपत परेका बेला राहत कोषले सहयोग मिल्ने वडा अध्यक्ष अधिकारीको भनाई रहेको छ । यसै गरि राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी राजनीतिज्ञ तथा समाजसेवी होमप्रसाद शर्माले पनि आफ्नो तर्फबाट ३५ हजार रुपैयाँ नागरिक सुरक्षा कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।