‘लकडाउन’ सुर्खेत ! (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर शान्त देखिएको छ । बिरेन्द्रनगर मुख्य बजार मंगलगढी चोक,बिरेन्द्रचोक,बजार क्षेत्र,बसपार्क सबैतिर सुनसान छ । सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ । प्रहरीले मोटरसाइकल चालकहरुलाई सम्झाएर घर पठाउने गरेको छ ।

सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाव भएपछि विश्वका अधिकाँस मुलुकहरुले लक डाउनको नीति अख्तियार गरेका छन् । त्यसैले नेपाल सरकारले पनि उक्त नीतिलाई अबलम्बन गरेको छ । जसले गर्दा मंगलबार बिहानैदेखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ ।

लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिद लगायत अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो । सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिनका लागि ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो । सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको छ ।