बी डिभिजन लिग चैत १२सम्म रोकियो

काठमाडौं, शहीद स्मारक बी डिभिजन लिग चैत १२ गतेसम्मका लागि स्थगित भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा नेपालमा संक्रमण फैलिन नदिन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार १ हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी बी डिभिजन लिग रोक्ने निर्णय गरेको हो ।

यसअघि पनि फागुन २१ गते राखेपले सम्भव भएसम्म सबै खेल गतिविधि रोक्न भने पनि संचालनमा रहेका प्रतियोगितालाई यथावत चल्न दिने निर्णय गरेको थियो । उक्त विज्ञप्ति जारी हुनु अगाडिदेखि शुरु भएका कारण बी डिभिजन निरन्तर चलिरहेको थियो ।

तर, मंगलबार सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले १ हप्ताका लागि खेल गतिविधि रोक्ने निर्णय गरेसँगै बी डिभिजन लिग पनि रोकिएको हो ।

अहिले बी डिभिजनमा ३१ औं खेल सम्पन्न भइसकेको छ ।