गुल्मीका २८ विद्यार्थीले एसईई दिन नपाउने

गुल्मी ,यस वर्ष गुल्मी जिल्लाका २८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाउने भएका छन्‌।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ जानकारी दिए। ७० प्रतिशत हाजिरी नपुगेका र विभिन्न कारणले विद्यालय आउन नसकेका बिद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको उनले जानकारी दिए। गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार हजार ७०७ विद्यार्थी सहभागी हुने भएका छन्।

आगामी चैत ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिल्लाका १४५ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार छात्रा दूई हजार ५१५ जना र छात्र दूई हजार १९२ जना परीक्षामा सहभागी हुने जानकारी दिए। नियमिततर्फ चार हजार ६२८ जसमा छात्रा दूई हजार ४८४ र छात्र दूई हजार १४४ जना सहभागी हुनेछन्।

त्यस्तै आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना जसमा छात्रा ३१ जना र छात्र ४८ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ। चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सधारणतर्फ चार हजार ४७४ जना रहेका छन्। जसमा छात्रा दूई हजार ४०८ र छात्र दूई हजार ६६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत महेन्द्र सुवेदीले जानकारी दिए।

जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा संचालनमा आएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यस वर्षको एसइईमा ६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन्। जसमा रेसुङगा मावी तम्घास , उदय मावी शान्तिपुर, पाञ्चायन मावी जैसिथोक, जनज्योति मावी रिमुवा, हिमालय मावी हस्तिचौर, जनबोध मावी रानीबासका गरी १ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

छात्रा ७३ जना र छात्र ७८ जना सहभागी हुने कार्यालयले जनाएको छ। यस वर्षको परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ। जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वत त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख ज्ञवालीले जानकारी दिए।

अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम भईरहेको ज्ञवालीले जानकारी दिए त्यससंगै प्रश्नपत्र पनि सम्बन्धित परिक्षा केन्द्र भएको प्रहरी चौकीमा पठाउने पनि ज्ञवालीले जानकारी दिए।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा रहेका २६ वटा परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई चैत २ गते जिल्लाको सदरमुकाम तम्घासमा अभिमुखिकरण तालिम दिइने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए। सोही दिन सबै केन्द्राध्यक्षहरुलाई नियुक्ति पत्र र परीक्षा सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।