हिमपहिरोमा परी पाकिस्तानमा ५ मृत्यु

इस्लामावाद, पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली क्षेत्रअन्तर्गत गुण्ड्ला गाउँमा हिमपहिरो गएको हो ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइते अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।

हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । हिमपहिरोमा अरु धेरै मानिसहरु फसेको र उनीहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ ।