चीनसँग जोडिएको डोल्पामा प्रहरीको उच्च सतर्कता

डोल्पा , डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ। कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

चीनसँग सिमाना जोडिएका मोरिम्ला र क्याटो नाका उपल्लो डोल्पामै पर्छन्। विश्वरभर कोरोना भाइरसको त्रास बड्दै गएकाले उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरेर उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।

‘उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाका खुला छन्, उक्त नाकाहरूबाट कोरोना संक्रमित चिनियाँ नागरिक पनि भित्रने डरउत्तिकै छ, सोही कारणले पनि उपल्लो डोल्पामा पर्ने साल्दाङ, कागकोटलगायतका प्रहरी युनिटहरूलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिइएको छ’ प्रहरी नायव उपरीक्षक रञ्जितकारले भने।

‘उपल्लो डोल्पामा कोही नयाँ विदेशी नागरिक देखे उनीहरूलाई विशेष निगरानी गर्न भनेका छौँ, गृह मन्त्रालयको निर्देशन पनि चीनसँग सिमाना जोडिएका जिल्लाको सुरक्षा व्यवस्था संवेदनशील भएर कडाइ गर्ने भन्ने छ, सोहीअनुसार लागिरहेका छौँ’ उनले थपे।

यीन नाकामा दशौँ फिट हिँउ जमेकाले त्यस्ता संक्रमित आउने सम्भावना कमै रहने भए पनि सुरक्षाका हिसाबमा उच्च सतर्कता अपनाइएको उनको भनाई छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने साल्दाङबाट क्याटो नाका पुग्न करिब दुई दिन लाग्छ। त्यसैगरि डोल्पोबुद्ध गाउँपालिकामा पर्ने ताक्सी बाट मोरिम्ला नाका पुग्न एक दिन लाग्छ। उपल्लो डोल्पामा सबै गरेर सात वटा प्रहरी युनिट रहेका छन्।

राप, धो, साल्दाङ, भिजेर, ताक्सी, कागकोटलगायतका स्थानमा प्रहरी चौकी स्थापना गरिएको छ। उपल्लो डोल्पामा हाल तीनवटा प्रहरी युनिट मात्रै बसेका छन् भने बाँकी सबै सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय डोल्पामा गाभिएका छन्। हिँउदको समयमा अत्याधिक चिसो हुने भएकाले प्रहरी चौकी पनि सदरमुकाम तिरै झर्ने गर्छन् भने गर्मी समय सुरु भएपछि मात्रै माथितिर लाग्ने गर्दछन्।