कोरोनाको त्रासले होलीमा सुनसान नेपालगन्ज

बाँके , होलीको अवसरमा होली खेल्नेहरुले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, टाँगास्टेशन, त्रिवेणीमोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोकलगायत चोक र गल्ली यस वर्षकोसुनसान छन्।

भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न स्थानीय प्रशासनले माइकिङ गरी आग्रह गरेपछि होली खेल्नेको संख्यामा कमी आएको हो। विगतका वर्षहरुमा संस्थागत रुपमा होली मिलन कार्यक्रम गर्दै आएका विभिन्न संघ संस्थाले पनि होली कार्यक्रम नगर्ने भएपछि यस वर्ष नेपालगन्जको चोक तथा गल्ली सुनसान भएको नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए।

उनले भने, ‘होली खेल्नेका लागि डिजेको व्यवस्था गरिए पनि होली खेल्न आएको पाइएन।’ चिसो, धुलो, धुवाँ र अबिरले रुघाखोकी लाग्ने र भीडभाडमा बस्दा कोरोना भाइरस संक्रमण हुने भयले यस वर्ष बाँकेमा होली खेल्नेको संख्यामा कमी आएको उनको वैश्यको भनाइ छ। महासंघ र कर्मचारी संगठनको होली कार्यक्रम स्थगित नेपाल पत्रकार महासंघ, बाँकेले यस वर्ष होली मिलन कार्यक्रम नगर्ने भएको छ।

शान्ति, सद्भाव र भ्रातृत्वका लागि हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको महासंघले कोरोनाको सम्भावित प्रकोपलाई मध्यनजर गरी होली मिलन कार्यक्रम स्थगित गरेको जनाएको छ। महासंघ, बाँके सचिव तिलक गाउँलेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘भीडभाड हुने कार्यक्रम नगर्नु–नगराउनु भन्ने संघ, प्रदेश सरकार र स्थानीय प्रशासनले सार्वजनिक सूचनामार्फत अनुरोध गरेकोले यस बर्ष होली मिलन कार्यक्रम स्थगित गरिएको छ।

’ नेपाल निजामती कर्मचारी संगठन, बाँकेले पनि यस वर्ष होली मिलन कार्यक्रम नगर्ने भएको छ। कोरोनाको उच्च जोखिममा नेपाल रहेको र छिमेकी मुलुक चीनमा मात्र हजारौं संक्रमित तथा सयौंको ज्यान गइसकेकाले यस वर्ष होली मिलन कार्यक्रम नगर्ने निर्णय गरिएको संगठनका सचिव देवीलाल चौलागाईंद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

कोरोनाबारे अफबाह फैलाउने, कालाबजारी गर्ने, औषधि, मास्कजस्ता अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने माथि कडा कारवाही र प्रभावकारी अनुगमन गर्न संगठनले सरकारसँग माग गरेको छ। बिक्री भएनन् होलीका सामग्री कोरोनाका कारण सर्वसाधारणले होली नखेल्ने भएपछि नेपालगन्जको व्यापार, व्यवसायमा पनि असर परेको छ।

होलीका अवसरमा त्रिभुवन चोकमा लाग्ने सडक मेलामा अबिर, रङ, लोला, पिचकारीलगायत होलीमा प्रयोग हुने सामग्री किनमेलमा कमी आएको स्थानीय व्यापारी शैलेन्द्र गुप्ताले बताए। उनले त्रिभुवन चोक नजिक सडकमा होलीमा प्रयोग हुने सामग्रीको पसल राखेका छन्। यस वर्ष होलीका सामग्री बिक्रीमा ७५ प्रतिशतले कमी भएको गुप्ताले बताए।