काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवालले गरे आत्मसमर्पण

काठमाडौं,निर्माण क्षेत्रदेखि वित्तीय संस्थासँग ठगीको चक्रब्युह खडा गरी अर्बौं रुपैयाँ कुम्ल्याएर सुइँकुच्चा ठोकेका मनोज भेटवालले अन्ततः आत्मसमर्पण गरेका छन्। भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा आत्मसमर्पण गरेका हुन्।

७५ लाख रुपैयाँ ठगेको भन्दै चन्द्र तामाङले किटानी जाहेरी दिएपछि भेटवाल भारत पुगेका थिए। प्रहरीले भारतमा पनि समात्न सक्ने डरले लगातार वासस्थान परिवर्तन गर्ने गरेको प्रहरीस्रोतले जानकारी दियो। ठगी मुद्दामा भेटवाललाई उच्च अदालत पाटनले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

यसअघि पनि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकभित्र भएको करिब १ अर्ब ५० करोड रुपैयाँ घोटालामा पनि भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो। भेटवालले जलेश्वर स्वच्छन्द विल्डर्स नामक निर्माण कम्पनी स्थापना गरेका छन्। काठमाडौंको पुरानो बसपार्कमा भ्युटावर बनाउने भन्दै काम अलपत्र पारेको यो कम्पनीलाई सरकारले क वर्गमा राखिदिएको छ।

वि.सं. २०७१ फागुनमा निर्माण जिम्मा लिएको भेटवालको कम्पनीले अहिलेसम्म एक प्रतिशत काम पनि सकेको छैन। भ्युटावर बनाउने नाममा साविकको बसपार्कलाई खुलामञ्चमा सारेपछि भेटवालले खुलामञ्चमै सटर बनाई बेचिदिएका थिए। नागरिक प्रदर्शन व्यापक बनेपछि सरकारले त्यहाँका सटरहरु भत्काइदिएको थियो।

विशेषगरी काठमाडौं महानगरपालिकाका कर्मचारीलाई प्रभावमा पारेर सार्वजनिक सम्पत्तिमा रजाइँ गर्न पल्केका भेटवालले पछिल्लो पटक नगरप्रमुख विद्यासुन्दर शाक्य लगायतसँग पनि सुमधुर सम्बन्ध बनाएका थिए। त्यसैले खुलामञ्चमा भेटवालले बनाएको सटर भत्काउन मेयर शाक्यले आनाकानी गरेका थिए।