होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरी फन्दामा

काठमाडौं,उपत्यकाका विभिन्‍न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ।

त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले आफ्नो मातहत रहेका स्थानबाट कोही पनि पक्राउ नपरेको बताए। त्यस्तै ललितपुर प्रहरीका अनुसार पनि होली शान्तिपूर्ण रुपमा खेलिएको पाइएको छ ।

गत वर्षको तुलनामा यस पटक होली खेल्नेको संख्या निक्कै कम रहेकाले उच्छृङखल गतिविधिमा कमी आएको छ । विश्‍वभर फैलिँदै गएको कोरोनाभाइरसको त्रासका कारण गत वर्षहरुमा हजारौँको भीडभाड हुने स्थानहरुमा समेत निक्कै कम होलीमा रमाउनेहरु देखिएका छन् ।