गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित

बैतडी ,सुर्नया गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। गत मंसिरमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएपछि कामकाज प्रभावित हुँदै आएको छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबारका काम ठप्प भएका गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए। संघीय सरकारले कार्यालय प्रमुख पठाउने गरेको र गाउँपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मनलाग्दी हिसाबले सरुवा गर्ने गरिएकाले समस्या भएको अध्यक्ष विष्ट बताउँछन्। ‘

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अत्यावश्यक काम समेत रोकिएका छन्’ उनले भने, ‘संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाए आन्दोलनमा जानुको बिकल्प छैन।’ प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुले मंसिरदेखि तलबभत्ता पाएका छैनन्।

सामाजिक सुरक्षा भत्ता वितरणमा समेत अवरोध आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताए। उनले भने, ‘निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नहुँदा समस्या भएको छ।’

यस्तै, प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरु अहिलेसम्म सञ्चालन हुन सकेका छैनन्। हालसम्म पनि योजना कार्यान्वयनमा नआउँदा अब हुने विकास निर्माणका काम गुणस्तर नहुने स्थानीय प्रकाश भाटको बताउँछन्। उनले भने, ‘असारमा हतार हतारमा निर्माण गरिने योजना दिगो बन्दैन।’