कतारका नेपालीलाई दूतावासले भन्यो : अत्यावश्यकबाहेक भेटघाट नगर्नू

काठमाडौं , कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपाली समुदायलाई अत्यावश्यकबाहेक कोही कसैसँग भेटघाट वा भौतिक सम्पर्क नराख्‍न अनुरोध गरेको छ।

कतारमा कोरोना भाइरस फैलिएको पुष्टि भएपछि नेपाली राजदूतावासले सोमबार पत्रमार्फत यस्तो अनुरोध गरेको हो। ‘कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्नु हुन र आपसमा टेलिफोन वा इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध छ’ राजदूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

राजदूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनुपरेमा भौतिकरुपमा राजदूतावास आइरहनुनपर्ने र त्यसका लागिसमेत राजदूतावासको फोन नम्बर ४४६७५६८१ , ४४६७५६८३ , ४४१७१९६२ मा सम्पर्क गर्न वा इमेलबाट जानकारी गराउन सकिने अनुरोध गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएसँगै कतार सरकारले नेपालसहित १४ मुलुकका नागरिकलाई कतार जान रोकेको छ।