विश्वका १०१ मुलुकमा फैलियोको कोरोना भाइरस चीनमा संक्रमण घट्दै

विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड-१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ। विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ।

ग्रीनविच समयअनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप संक्रमितको संख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ। डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको विषय बनेको यस स्वास्थ्य समस्याका कारण एसियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमणका कारण शनिबारसम्म एसियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ। त्यस्तै, यूरोपमा कोभिड–१९ संक्रमित संख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ। मध्यपूर्वमा छ हजार १५८ संक्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ। अमेरिका र क्यानडामा गरी कूल २७० जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।

चीनमा नयाँ संक्रमण र मृत्युदर घट्ने क्रम जारी सबैभन्दा पहिले कोभिड–१९ को संक्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६९५ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ।

शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप संक्रमितको संख्या ४४ रहेको छ भने यही समयमा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ। चीनमा करिब २० दिन पहिले संक्रमणका कारण एकै दिनमा दुईसय भन्दा बढीको मृत्यु हुने गरेको थियो। अहिलेसम्म चीनबाहिर संक्रमितको संख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ।

त्यस्तै शनिबार साँझ ५ बजेपछि समाचार तयार पार्दासम्म करिब १८ घण्टामा विश्वभर थप ८८९ जनामा संक्रमण पुष्टि भएको र यो समयमा १२ जनाको मृत्यु भएको बताइएको छ। कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरूमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन्।

दक्षिण कोरियामा सात हजार ३१३ संक्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ। इटलीमा पाँच हजार ८८३ संक्रमित भएका छन् भने २३३ को मृत्यु भएको छ। इरानमा पाँच हजार ८२३ जनामा संक्रमण पुष्टि भएकोमा १४५ जनाको मृत्यु भएको छ। त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ संक्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ।

जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा संक्रमण पुष्टि भएकोमा यो संख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी एक पानी जहाजमा संक्रमण भेटिएका यात्रुबाहेक कूल ४३८ जनामा संक्रमण पुष्टि भएको छ। दक्षिण कोरियामा मृत्यु संख्या नियन्त्रणमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण विगत २४ घण्टामा थप २७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन्।

यससँगै दक्षिण कोरियामा यस भाइरसबाट संक्रमितको संख्या सात हजार ३१३ पुगेको छ। विगत एक सातालाई मुल्यांकन गर्दा कोरियामा नयाँ संक्रमणदरमा निकै कमी देखिएको उल्लेख छ। यहाँ गत साताको मध्यतिर संक्रमण दर दैनिक ५०० भन्दा बढी रहेको थियो। कोभिड–१९ पनि भनिने यो भाइरसका कारण उक्त समयमा कसैको पनि मृत्यु नभएको दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कोभिड–१९ संक्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। विश्वव्यापी चिन्ताको बिषय बनेको यस भाइरसको संक्रमणका कारण भएको मृत्यु दर ०.७ रहेको छ। दक्षिण कोरियाको डेगु सहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार १०३ व्यक्तिमा संक्रमण भेटिएको छ। यो दक्षिण कोरियामा संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै दुई स्थानका व्यक्तिहरू रहेका छन्। रा

जधानी सियोल र ग्योङ्गी प्रान्तमा क्रमशः १२० र १४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। दक्षिण कोरियाले देशलाई कोरोनाभाइरस संक्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ।

करिब २५ लाख जनसंख्या रहेको डेगुलाई दक्षिण कोरियामा भाइरस संक्रमणको उद्गमस्थल मानिएको छ भने सरकारले यस क्षेत्रलाई संक्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ। डेगुमा रहेको धार्मिक अल्पसङ्ख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो संक्रमण फैलिएको विश्वास गरिएको छ।

दक्षिण कोरियामा संक्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामुहिकरूपमा संक्रमण भेटिएको र यसको ६२.८ अर्थात् चार हजार ४८२ संक्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन्। कोरियामा जनवरी ३ देखि संक्रमण परीक्षण सुरू गरिएको र मार्च ७ सम्ममा एक लाख ८८ हजारमा संक्रमण जाँच भएको र यसमध्ये एक लाख ६२ हजार व्यक्तिमा संक्रमण देखिएको छैन। बाँकी १९ हजारमध्ये सात हजार ३१३ मा संक्रमण पुष्टि भएको छ भने केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ।