माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी

काठमाडौं,नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एकजना लाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।

“पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भने ।

श्रेष्ठले माल्टा जानेसँग छ–छ लाख तथा कुवेत जानेसँग तीन–तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ । माल्टामा प्रतिमहिना १ हजार २०० युरो र कुवेतमा प्रतिमहिना २ हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए ।

प्रहरीले पक्राउ परेका श्रेष्ठको साथबाट विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।