नारी दिवसकै दिन छोराले गरे आमामाथि एसिड प्रहार

बुटवल ,कपिलवस्तुमा नारी दिवसकै दिन छोराद्भारा क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरि नारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा बेममतिमाथि एसिड प्रहार भएको हो ।

प्रहरीका अनुसार क्रिकेटको ब्याट भाँचेपछि क्षतिपूर्ति स्वरुप पैसा दिने क्रममा दुवै पक्षबीच हात हालाहाल भएको थियो । राति हरि नारायण बरईले बेममति देवी गुप्तालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घाइते बेममतिलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचार पश्चात भैरहवा रिफर गरिएको छ ।

.ब्याट्रीको पसल सञ्चालन गर्दै आएका बरईले राति बेममतिको घरमै पुगेर एसिड प्रहार गरेको बताइएको छ । प्रहरीले उनको साथबाट ५ लिटर एसिडसमेत बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशमशेर राणाले रातोपाटीलाई बताए ।