कोरोना संक्रमितलाई राखिएको होटल भत्कियो, ७० जना पुरिए

चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन्।

दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो। उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।

शुक्रवारसम्म फुजिएन प्रान्तमा झन्डै ३०० जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघेको छ।