कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो

काठमाडौं,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेको पाइएको छ ।

कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ३५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् ।

त्यस्तै इरानमा १ सय ४५ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्यस्तै अमेरिकामा १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ सय ३ राष्ट्रमा कोरोनाको संक्रमण फैलिएको छ ।