अब मौसम सफा हुने र गर्मी बढ्ने

बाहिरियो पश्चिमी वायु

काठमाडौं, नेपालबाट पश्चिमी वायुको प्रभाव बाहिरिएको छ । जसका कारण आज (आइतबार) देखि देशभरको मौसम सफा हुने मौसमविद्ले जानकारी दिएका छन् । हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो । योसँगै अब वर्षा तथा हिमपात हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका छन् ।

‘आज देशभरकै मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने सम्भावना देखिन्छ,’ वरिष्ठ मौसमविद् पौडेलले आइतबार भने, ‘पश्चिम र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा साँझपख छिटफुट वर्षा हुने सम्भावना मात्र छ ।’

अहिले प्रिमनसुन अवधि हो । यस अवधिमा स्थानीय वायुको प्रभाव रहने उनले बताएका छन् । तर पश्चिमी वायु समेत मिसिँदा भने बदली र वर्षा बढ्छ । यसअघि यी दुवै वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा राम्रै वर्षा भएको वरिष्ठ मौसमविद् पौडेलले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार सबैभन्दा बढी वर्षा दाङमा २७.४ मिलिमिटर वर्षा भएको छ । दोस्रोमा पोखरामा २५.८ मिलिमिटर वर्षा भएको छ भने यसपछि दिपायलमा २४.२ मिलिमिटर वर्षा भएको छ ।

अब गर्मी बढ्ने

अहिले बिहान बिहान चिसो हुने गरेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिमपात तथा वर्षा भएकाले बिहान बिहान चिसो बढेको हो । यो क्रम भोलिसम्म जारी रहने उनले बताए ।

तर अब बिस्तारै तापक्रम बढ्ने भएकाले गर्मी बढ्ने उनको अनुमान छ । ‘बिहान बिहान चिसो हुने क्रम भोलि (सोमबार) सम्म रहला,’ उनले भने, ‘दिनभर घाम लाग्न थाल्यो भने तापक्रम बढेर देशभर गर्मी बढ्ने देखिन्छ ।’