स्कुलबाट झुक्याएर छात्रालाई अपहरण गर्न खोज्ने युवक पक्राउ
इटहरी,स्कुलबाटै एक छात्रालाई झुक्याएर अपहरण गर्न खोजेको आरोपमा इटहरी उपमहानगर–५ का २१ वर्षीय समीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
गत माघ १९ गते इटहरीस्थित आँपगाछीमा रहेको होराइजन बोर्डिङ स्कुलमा पुगेर कक्षा ९ मा अध्ययनरत १४ वर्षीया एक छात्रालाई बाबुले लिन पठाएको भन्दै बस्नेतले अपहरणको प्रयास गरेका थिए । उनलाई शुक्रबार काठमाडौंमा पक्राउ गरी शनिबार इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको इप्रका इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
डिएसपी भण्डारीका अनुसार स्कुलमा पुगेर बाबा बिरामी हुनुहुन्छ, तिमीलाई बोलाउन पठाएको भन्दै बस्नेतले छात्रा अपहरणको प्रयास गरेका थिए । नमानेपछि उनले फोनमा कुरा गर्न भन्दै फोन दिए पनि स्वर नचिनेपछि ती छात्रा बस्नेतसँग गएकी थिइनन् । उनले ती नचिनेका युवकले स्कुलमा आएर बोलाएको कुरा घरमा भनेपछि उनीविरुद्ध छात्राका बाबु–आमाले अपहरण उद्योगमा जाहेरी दिएका थिए ।
इप्रका इटहरीका इन्स्पेक्टर मनप्रसाद श्रेष्ठका अनुसार ती छात्राको घरमा किराना पसलसँगै क्यारम बोर्ड पनि छ । ती युवक कहिलेकाहीँ क्यारम बोर्ड खेल्न आउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘बस्नेतले एकतर्फी प्रेम गरेको जस्तो देखिन्छ,’ इन्स्पेक्टर श्रेष्ठले भने, ‘धन्न गइनन् र दुर्घटनाबाट बचेको छ ।’ प्रहरीका अनुसार ती युवकलाई ६ महिनाअघि चोरीको मुद्दासमेत लागेको थियो ।