अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

वाशिंटन, कोरोना भाइरसका कारण अमेरिकामा थप दुई जनाको ज्यान गएसँगै त्यहाँ यसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने मारिने दुबै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार ली काउन्टीका एकजना र सान्टा रोजा काउन्टीका अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि पश्चिमी अमेरिकाका वाशिंटन राज्यमा १४ जनाको ज्यान गएको थियो भने क्यालिफोर्निया राज्यमा १ जनाको मृत्यु भएको थियो ।

हालसम्म अमेरिकाका फ्लोरिडा, वाशिंटन र क्यालिफोर्नियासहित एरिजोना, कोलाराडो, जर्जिया, इलेनोई, इण्डियाना, केन्टकी, मेरल्यिाण्ड, मासाचुसेट्स, नेभादा, न्यू हेम्पसायर, न्यू जर्सी, न्यू योर्क, नर्थ क्यारोलाइना, ओरेगन, पेन्सलभेनिया, रोड आइल्याण्ड, टेनिसी, टेक्सस र विस्कन्सिन राज्यमा कोरोनाका संक्रमितहरु देखा परिसकेका छन् ।

त्यसबाहेक क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरको तटपारी तैरिरहेको ग्राण्ड प्रिन्सेस नामक क्रुज सिपमा रहेका २१ जनामा कोरोनाको पुष्टि भएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक पत्रकार सम्मेलनमार्फत् ग्राण्ड प्रिन्सेसमा सवार २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोनाको लक्षण देखापरेका ४६ जनाको स्वास्थय परीक्षण गर्ने क्रममा १९ जना चालक दलका सदस्य र २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।