चीनमा कोरोना संक्रमितको संख्या एक लाख नजिक; कोरिया, इटाली र इरानमा पनि फैलियो

एजेन्सी, कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ । विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ । चीनपछि सबैभन्दा बढी इरान, इटाली र दक्षिण कोरियामा भाइरस फैलिइरहेको छ ।

इटालीमा १४८ जनाको मृत्यु भइसकेको छ । तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । इरानमा मर्नेको संख्या एक सय कटिसकेको छ । संक्रमित संख्या तीन हजारभन्दा बढी छ ।

दक्षिण कोरियामा ४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । छ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । चीनमा भन्दा कोरियामा संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । वासिङ्टन र क्यालिफोर्नियामा भाइरसका संक्रमित बढी देखिएका छन् ।

चीनमा तीन हजारभन्दा बढी मानिसको कोरोना भाइरसबाट ज्यान गइसकेको छ । चीनमा मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजार पुगेको छ ।

विश्वका झण्डै एक सय देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । यसले भयावह रुप लिन सक्ने भन्दै विभिन्न देशले रोग नियन्त्रणका लाग अरबौं डलर खर्च गर्ने तयारी गरेका छ । विश्व बैंक र इन्टरनेशनल मनिटरी फन्डले पनि अबौं डलर सहयोगको घोषणा गरिसकेका छन् ।