कतार प्रहरीमा १७९ जना नेपाली भर्ती

काठमाडौं, १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो ।

कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । तालिम सकिएसँगै उनीहरु कार्यक्षेत्रमा खटिएका छन् ।

यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो ।

कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।