कोरोना त्रासः अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

चीनमा रोकियो मानवीय क्षति

काठमाडौं,विश्वभर महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसको उद्गमस्थल चीनमा मानवीय क्षति रोकिएको छ। तर, संक्रमित व्यक्तिको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। बितेका २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको र जम्मा १२ जना मात्र नयाँ बिरामी भेटिएको चिनियाँ अधिकारीहरुले बताएका छन्।

यद्यपी, चीनबाहिर यो अवधिमा थप ५२ जनाको ज्यान गएको छ भने २१५९ जना नयाँ संक्रमित थपिएका छन्। उता, अमेरिकामा भनेउ मृत्यु हुनेहरुको संख्या ११ पुगिसकेको छ। चीनमा भन्दा निकै ढिला गरी फैलिएको कोरोना संक्रमणका कारण मानवीय क्षति बढ्दै गएपछि तनावमा रहेको अमेरिकाले क्यालिफोर्निया राज्यमा आपत्तकाल घोषणा गरेको हो। पछिल्लोपटक अमेरिकामा ७१ बर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो। उनी जापानबाट डायमण्ड प्रिन्सेस भनिने पानीजहाजमा यात्रा गर्ने व्यक्ति भएको अधिकारीहरुले बताएका छन्।

अमेरिकाका १६ राज्यमा कोरोनाबाट कम्तिमा १५० व्यक्ति संक्रमित भएका छन्। विश्वभर अहिलेसम्म ९५,४८० वटा कोरोना संक्रमणका मामिला भेटिएका छन्। वल्डोमिटर्सडटइन्फोका अनुसार अहिलेसम्म ३,३६८ जनाको ज्यान गएको छ भने संक्रमित ६,४१९ जनाको अवस्था जटिल छ। हालसम्म ५३,६८८ संक्रमित उपचारपछि ठीक भएर घर फर्किएका छन्। कोरोना फैलिएका विश्वका अन्य मुलुकले पनि सतर्कता अपनाउन थालेका छन्।

कोरोना संक्रमणका कारण १०७ जनाको ज्यान गइसकेको इटालीमा आज (शुक्रबार) देखि आगामी १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको छ भने इटालियन सिरी ए फुटबलसहित सबै व्यवसायिक खेलहरुलाई एक महिनाका लागि स्थगित गरिएको छ। फ्रान्सले पनि १२० भन्दा बढी विद्यालयहरुमा पठनपाठन बन्द गराएको छ। यसअघि नै चीन, हङ्गकङ्ग, जापान, इराक र संयुक्त अरब इमिरेट्सले कोरोना संक्रमण फैलन नदिन विद्यालय बन्द गरिसकेको छन्।