कोरोनाको सन्त्रासपछि मोदीले गरे बेल्जियम भ्रमण रद्द

भारत,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेल्जियम भ्रमण रद्द गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारण प्रधानमन्त्री मोदीले यस अघि नै तय भएको बेल्जियमको भ्रमण रद्द गरेका हुन्। मोदी मार्च १४–१५ मा बेल्जियम जाने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो । युरोपियन युनियनको सम्मलनमा भाग लिन त्यसतर्फ जान लागेका थिए। मार्च १३ का लागि तोकिएको उक्त सम्मेलन पनि स्थगित भएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार प्रधानमन्त्री मोदीको निर्धारित भ्रमणको कार्यतालिका हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।  भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । हालसम्म भारतमा ३० जना कोरोनाबाट संक्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्लीका विद्यालयहरु एक महिनाका लागि बन्द गरिएका छन्। कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ।