डायलासिसपछि प्रधानमन्त्रीले भने, ‘हप्ता दिनमै क्याबिनेट बोलाउँछु’
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आज (मंगलबार) डायलासिस गरिएको छ । दोस्रोपल्टको मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओलीको छाती, मुटु, पेटलगायतको चेकजाँचमा सबै कुरा राम्रो देखिएको अस्पतालका प्राध्यापक डा. अरुण सायमीले जानकारी दिएका छन् ।
‘आज डायलासिस पनि गरियो, छाती, मुटुलगायत सबै रिपोर्ट राम्रो आयो, भोलि बिहान ठीक ९ बजे प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु हुन्छ, उनले भने, ‘मुख्य गरी नेपाली टिमले नै उहाँको प्रत्यारोपण गर्नेछ, बाहिरका डाक्टर सपोर्टका लागि आएका हुन् ।’
प्रधानमन्त्रीको उपचारलाई लिएर डाक्टरहरु चिन्तित भए पनि प्रधानमन्त्री भने ढुक्कै रहेको डा. सायमीले बताएका छन् । ‘हामी बरु चिन्तित छौं’, उनले भने, ‘प्रधानमन्त्री ढुक्कै हुनुहुन्छ, एक हप्तापछि क्याविनेट बोलाउँछु भनेर एकदम उच्च मनोबिज्ञानका साथ कुरा राख्नुभयो ।’

