गोर्खाबाट गैरकानूनी रुपमा कामगर्ने ८ चिनियाँ पक्राउ

काठमाडौं , गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ ।

माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम शर्माले जानकारी दिए । पक्राउ पर्नेमा ट्यांग ग्वाङ लीन, ट्यांग डाकविङ, ट्यांक जुन, ट्यांग जियानहुवा, ट्यांग युजेन, याङ चुन, याङ जियाचुन र लिङगू केसेङ छन् ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार उनीहरु सबैलाई आरुघाट नगरपालिका–३ स्थित सोती भन्ने स्थानमा काम गरिरहेको बेला नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सोमबार साँझ नै अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

यसअघि माथिल्लो बुढिगण्डकी जलविद्युत परियोजना सञ्चालन गर्ने नौले नेपाल हाइड्रोपावर कम्पनीले १५ जनाभन्दा धेरै चिनियाँ नागरिकलाई कामदारको रुपमा नेपाल ल्याएको थियो ।  उनीहरुले गैरकानूनी रुपमा काम गरिरहेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई तत्काल कागजात जुटाउन आग्रह गरेको थियो ।

तर प्रशासनको उक्त आग्रहलाई बेवास्ता गर्दै केही चिनियाँहरु भागेका थिए । यद्यपी त्यहाँ बिना कागजात काम गरिरहेका ८ चिनियाँलाई भने पक्राउ गरिएको हो । कतिपयसँग पर्यटन भिसा रहेको तर काम गर्न पाउने कागजात नभएको र कतिपयसँग भने भिसा नै नभएको प्रजिअ पौडेलले जानकारी दिए।