पुस्तकमा लगाएको करविरुद्ध देशभर नेविसंघको प्रदर्शन

काठमाडौं ,नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले पुस्तकमा लगाएको कर फिर्ता लिनुपर्ने माग राख्दै देशभर प्रदर्शन गरेको छ।

नेविसंघले सरकारले हालै आयातित पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेविसंघले विरोध गर्दै आइरहेको छ। नेविसंघले किताबमा लगाइएको करसँगै इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेर आइतबार देशभर प्रदर्शन गरेको हो।

नेविसंघले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए। ‘सरकार कर मात्रै बढाउने ध्याउन्‍नमा छ,’ उनले भने, ‘कर बढ्दा विद्यार्थीमा कति महँगीको भार थपिन्छ भन्‍ने उसले हेक्का राखेको छैन। बढेको कर फिर्ता नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्‍नेछ।