नेपालगञ्जमा ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा

यस्ता छन आकर्षणहरु

नेपालगञ्ज, बाँकेको नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औ शाखाको रुपमा भाटभटेनीले नेपालगञ्जमा शाखा संचालनमा ल्याएको हो ।

एक विशेष समारोहको आयोजना गरी भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ, प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, नेपालगञ्जका मेयर डा. धवल शम्सेर राणा लगायतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यावस्थापन पक्षले जनाएको छ ।

स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरु समेत उपलब्ध छन ।

भाटभटेनीले शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशतसम्म नगद छुटका साथै निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

नेपालगन्ज शाखासँगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आएका छन । यसअघि बुटवल र भैरहवामा संचालन गरीएका स्टोरभन्दा ठुलो स्टोरका रुपमा नेपालगन्ज शाखा संचालनमा आएको हो ।