रक्षामन्त्री पोखरेलको श्वेतपत्र : मुछिए यतीसँग प्रचण्ड, देउवा र बामदेव पनि !

नेपाल ट्रष्टको दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई भाडामा दिने निर्णय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी जारी गरेको स्वेतपत्रमा दरबारमार्ग र ताहाचलको जग्गा भाडामा दिँदा दाहाल र देउवा प्रधानमन्त्री भएको खुलाइएको हो ।

स्वेतपत्रका अनुसार काठमाडौं महानगरपालिका १ स्थित दरबारमार्गको कित्ता नं ४६०६ को १ रोपनी १५ आना जग्गा ५ बैशाख २०७४ मा थोमसेर्कु ट्रेकिङ प्रालिले लिजमा पाएको थियो । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि थिए । थोमसेर्कुले दरबारमार्गको जग्गा १ अर्ब ४० करोड १० लाख ८६ हजारमा पाएको हो ।

त्यस्तै, काठमाडौं महानगरपालिका १३ स्थित सोल्टी आउटर कम्प्लेक्सको कित्ता नं १८, १९ र २० को २ हजार १ सय ९० वर्ग मिटर जग्गा १३ कात्तिक २०७४ मा लिजमा दिँदा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा रहेको स्वेतपत्रमा उल्लेख छ । सो जग्गा २७ करोड ७४ लाख ७५ हजारमा थामसेर्कुले लिजमा पाएको थियो ।

यती समूहले गोकर्ण रिसोर्ट लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि सरकारमाथि गम्भीर प्रश्न उठ्दै आएको थियो । नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई मात्र नभइ विभिन्न ठाउँमा रहेको जग्गा मोहि खडागरी व्यक्तिको नाम समेत पारेको भन्दै आलोचना बढेपछि स्वेतपत्र जारी गरिएको हो ।

गोकर्णको जग्गाबारे भने लिज अवधि बढाएका कारण १ अर्ब बढी लाभ मिल्ने पोखरेलले जारी गरेको स्वेतपत्रमा उल्लेख छ । लिज अवधि बाँकी रहँदै नयाँ लिज सम्झौताले भाडादर बढेको र त्यसले ४ करोड ३१ लाख लाभ मिल्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, यती समूहले गोकर्णमा २९ करोड लगानीमा ४८ वटा सुविधायुक्त कोठा र ४ सय जना अट्ने हल बन्ने उल्लेख छ । त्यस्तै, २५ वर्ष लिज अवधि थप गर्दा १ अर्ब १ करोड ५१ लाख प्राप्त हुने स्वेतपत्रमा उल्लेख गरिएको छ । अप्रत्यक्ष लाभ करबाट ३ अर्ब प्राप्त हुने, रोजगारी सृजना हुने पर्यटन उद्योगमा टेवा पुग्ने र सम्पत्तिको संरक्षण हुने स्वेतपत्रमा छ ।

गोकर्ण रिसोर्टसहित नेपाल ट्रष्टका अधिकांश जग्गा यती समूहले लिजमा पाएको विभिन्न तथ्य खुल्दै गएपछि यस सम्बन्धमा भ्रम पैदा भएको भन्दै ट्रष्टका अध्ययक्ष समेत रहेका पोखरेललले श्वेतपत्र जारी गरेका हुन् ।