भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्रीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं,भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। निवर्तमान सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाविरुद्ध प्रितम सुवेदीसहितले उजुरी गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध पनि अर्को उजुरी परेको हो।

प्रधानमन्त्री, निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, पूर्वसञ्‍चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध आइतवार अख्तियारमा उजुरी परेको हो। उनीहरुविरुद्ध बाँकेको नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरको हेटौंडा, नवलपुरका आनन्दराम पौडेलले उजुरी हालेका हुन्।

सञ्‍चार मन्त्रालय अन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस, भू-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी बिस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अर्बौँ भ्रष्टाचार गरेको भन्दै उनीहरुले अख्तियारमा उजुरी हालेका हुन्। दुवैले दिएको उजुरीलाई अख्तियारले दर्ता गरेर अनुसन्धान अघि बढाउने जनाएको छ। करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएसँगै सञ्‍चार मन्त्री बाँस्कोटाले गत बिहीबार राजीनामा दिइसकेका छन्। 

स्वीस कम्पनीका एजेन्ट भनिएका विजय प्रकाश मिश्रले सार्वजनिक गरेको उक्त अडियोमा ७४ करोडमध्ये ५५ करोड रुपैयाँ कमिसन आफूले पाउनुनपर्ने भनेका थिए। ओलीले उक्त अडियो दुई महिना अघि नै सुनेको बताइएपनि एजेन्ट भनिएका मिश्रले आफूले उक्त अडियो कतै नदिएको दाबी गरेका छन्। उनले निवर्तमान मन्त्री बाँस्कोटालाई पनि आफूले नचिन्‍ने दाबी गरेका छन्।