सिंहदरबार अगाडि किताब प्रदर्शन, नौजना पक्राउ

काठमाडौं,सरकारले किताबमा कर लगाएको विरोधमा सिंहदरबारको पश्‍चिम गेट अगाडि आइतवार अनौठो प्रदर्शन गरिएको छ। किताब पढ्न पनि कर तिर्नुपरेको भन्दै विद्यार्थीहरुको एउटा समूहले प्रदर्शन गर्दा पक्राउ परेका हुन्। प्रहरीले सिंहदरबार अगाडि प्रदर्शनका क्रममा ९ जनालाई पक्राउ गरी हिरासतमा लिएको हो।

आइतवार अपरान्ह सिंहदरबार पश्‍चिम गेटअगाडि विरोधस्वरुप सामूहिक रुपमा किताब पढ्न बसेका आज्ञा श्रेष्ठ, उषा मैनाली, बिमल घिमिरे, प्रतिभा थुलुङ राई, मनोज पुरी, सुनिल बस्यौला, ऋषि रिजाल, बिनोद देउवा र गोविन्द कोइराला पक्राउ परेका हुन्। उनीहरुले किताबमा करविरुद्ध करिब ५ हजार जनाको हस्ताक्षरयुक्त ब्यानरसहित प्रदर्शन गरेको १० मिनेटमै प्रहरीले समातेको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा घोषित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा हिरासतमा लिइएका उनीहरुलाई पुनस् यस्तो काम नगर्ने शर्तमा रिहा गरिएको। एजना विद्यार्थी पवन ढुंगानाका अनुसार फेरि यस्तो गरेमा राजद्रोहको मुद्दा चलाउने चेतावनी दिँदै प्रहरीले कागज गराएर छाडेको छ। अर्का विद्यार्थी सौरभ कार्कीका अनुसार सबैजनालाई केही घण्टा हिरासतमा राखेपछि कागज गराएर प्रहरीले रिहा गरेको छ।