राप्ती नदीमा व्यवसायी शर्मा बेपत्ता, खोज्न सुरक्षाकर्मी परिचालन

कोहलपुर,बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयास्थित राप्ती नदीमा पिकनिक खान गएका एक व्यवसायी बेपत्ता भएका छन् । बैंकर्स र स्थानीय व्यवसायीहरु शनिबार पिकनिक खान अगैया बजारदेखि केही माथि रहेको झोलुङ्गे पुल नजिक गएका थिए ।

दिउँसो सवा दुई बजेदेखि बेपत्ता हुनेमा स्थानीय व्यवसायी ४२ वर्षिय शिव शर्मा रहेको बताइएकाे छ । ‘पिकनिक खाइसकेपछि नुहाउने क्रममा उनी बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ’। ्

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले पिकनिक खान गएका एक जना बेपत्ता भएको सुचना आएपछि खोजीका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी दिए । ‘दिउँसो एक जना बेपत्ता भएको खबर पाएसँगै सबै सुरक्षा निकायहरु परिचालन भएका थिए’ उनले भने, ‘नदीसहित आसपासका जंगल क्षेत्रमा खोजी गर्दा समेत कतै फेला पार्न सकिएन् ।’

के कारणले कोहलपुर १२ चप्परगौडि घर भई अगैयामा व्यवसाय गर्दै आएका शर्मा बेपत्ता भएका हुन् भन्ने बारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरु अबेर साँझसम्म खटिएका थिए ।

नुहाउने क्रममा नदीमा बेपत्ता भएको आशंकाले नदीमा सुरक्षाकर्मीहरुले रबर बोटको मद्धतले खोजी गरेको कोहलपुर प्रहरीले जनाएको छ । घटनाको खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीसहितको टोलीसमेत अगैया पुगेको थियो ।