प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुतला दहन

डडेल्धुरा,ललिता निवास जग्गा अनियमिता प्रकरणमा पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पुतला दहन गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचारकाविरुद्ध आइतबार देशभर आयोजना गरेको प्रदर्शनका कार्यक्रमअन्तर्गत अख्तियारले निष्पक्षरूपमा छानबिन नगरेको भन्दै प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुतला दहन गरेको हो।

बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै तरुण दल डडेल्धुराले प्रधानमन्त्री ओली मुर्दावादका नारा लगाएको थियो। अख्तियार प्रमुख आयुक्त घिमिरेको राजीनामा माग गर्दै तरुण दलले र्‍याली निकाली जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकमा पुतला दहन गरेको हो।

नेपाली कांग्रेस पार्टी कार्यालयबाट निकालिएको र्‍याली बसपार्क हुँदै भीमदत्त चोकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभालाई कांग्रेस जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले सम्बोधन गरि रहँदा तरुण दलका युवाले प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुतला दहन गरेका थिए। पुतदा दहन गर्दै गर्दा नेपाल प्रहरीले पुतलामा लगाइएको आगो निभाएका थिए। कोणसभालाई सम्बोधन गर्दै तरुण दल डडेल्धुरा सभापति शेरबहादुर साउँदले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको माग गरे।

सत्तामा रहेकालाई अख्तियारले कानुनी प्रक्रिया नपुर्‍याइ उन्मुक्ति दिने गरी विपक्षी दलका नेतालाई मात्र दोषी बनाइ कानूनी कटघरामा उभ्याउने काम गरेको उनको आरोप छ। जग्गा फिर्ता गर्नेलाई सरकार र अख्तियारको मिलोमतोमा छोड्ने र विपक्षी दलका नेतालाई कानुनी प्रत्रिया अघि बढाउने काम भएकाले दोषी सबैलाई कानूनी कटघरामा उभ्याइ कारबाही गरिनुपर्ने उनको माग थियो।

‘भ्रष्टाचारीलाई उन्मुक्ति दिइनु हुँदैन’ उनले भने, ‘सरकार, सत्ता साझेदार र नेकपा भएकै कारण दोषीलाई कारबाही नगर्ने र विपक्षी नेतालाई मात्र कारबाही गरिनु दुःखद हो।’ यसले एकातिर भ्रष्टाचारीलाई उन्मुक्ति दिएको छ भने अर्कातिर सुशासनको आभाष स्थानीयलाई गराउन नसकेको उनको आरोप थियो।