प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा वन्यजन्तुको तस्करी

गोकुलेश्वर,सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ ।

दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्सका चालक महेश बोहोरा छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित उक्त एम्बुलेन्स हाल बैतडीको डिलासैनी गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चेकजाँचका क्रममा मृत अवस्थामा रहेको चित्तल भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उक्त एम्बुलेन्स कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला फर्किएको थियो । महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सका चालक बोहोराले शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत नेपाली सेनाको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर एम्बुलेन्समा हालेर ल्याएका थिए ।

केही दिन अगाडि मात्रै मकवानपुर प्रहरीले एउटा सरकारी एम्बुलेन्समा चरेश तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको थियो । मकवानपुर प्रहरीले स्वास्थ्य मन्त्रालयबाट अनुदानमा वितरण गरिएको बा २ झ १७४९ नम्बरको गाँजा तस्करी गर्ने ३ जनालाई नियन्त्रणमा लिएको थियो ।