टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरीका असई र जवान पक्राउ

बुटवल, रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर अधिकारी छन् ।

अधिकारीले टिप्पर चालक तथा सञ्चालकहरुलाई डर त्रास देखाइ अवैध रुपमा रकम असुली गर्दै आएका थिए । टिप्पर चालक तथा सञ्चालकहरुले दिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यलयबाट खटिएको टोलीले असई अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीलाई रुपेन्देहीको बुटवल उपमहानगरपालिका–८ स्थित ट्राफिक पोस्ट रामननगर परिसरबाट शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले शुक्रबार नै रुपेन्देहीको खैरेनीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान छबिलाल पोखरेल घुस रकमसहित पक्राउ गरेको थियो ।

ट्राफिक प्रहरी जवान पोखरेलले पनि टिप्पर चालक तथा धनीहरुलाई धम्क्याएर अवैध रुपमा रकम असुली गर्ने गर्दथे । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान पोखरेललाई ३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

टिप्पर चालकसँग लिएको घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जानकारी दिएको छ ।