गच्छदारको बचाउमा कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध

काठमाडौं,बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ ।

आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि नेपाली कांग्रेसले लागतार संसद वैठक अवरुद्ध पार्दै आएको हाे  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसयता कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो । शुक्रबार स्थगित भएपछि आइतबार बोलाइएको बैठकमा पनि कांग्रेसले अवरोध सिर्जना गरेको छ ।

आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुको अवरोध पछि सभामुख अग्गि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पूर्वउपप्रधान तथा मन्त्री गच्छदारविरुद्ध अख्तियारले ९ करोड बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  कांग्रेसले भने पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै सदन र सडकमा विरोध जनाइरहेको छ ।