शिक्षण अस्पतालमा फेरि कलेजोको सफल प्रत्यारोपण

काठमाडौं,त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । नेपालमै कलेजो प्रत्यारोपण नियमित बनाउने प्रयास भइरहेको छ । पछिल्लोपटक शुक्रबार काठमाडौं बौद्धका ५७ वर्षीय बुबालाई उनकी २७ वर्षीया अविवाहित छोरीले कलेजो दिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राडा रमेशसिंह भण्डारीले जानाकारी दिए । शुक्रबार दिउँसो १२ बजे सुरु गरिएको कलेजो प्रत्यारोपण राति ९ बजे सकिएको थियो ।

अहिले दुवैजना आइसियु कक्षमा राखिएको र दुवैको अवस्था ठीक रहेको डा. भण्डारीले बताए। डा भण्डारीको टोलीले भारतको दिल्लीस्थित फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको सहयोगमा प्रत्यारोपण गरेको हो । यसअघि कलेजो दिएका र प्रत्यारोपण गरिएका सबैको स्वास्थ्य राम्रो रहेकाले कलेजो प्रत्यारोपणप्रति मानिसको विश्वास बढेको समेत डा. भण्डारीले बताए। उनका अनुसार अहिले पनि कलेजो प्रत्यारोपण गर्नुपर्ने धेरै बिरामी ‘क्यू’मा रहेको बताइन्छ।

ठूलो टिम र धेरै समय लाग्ने भएकाले डेढ दुई महिनाको अन्तरालमा मात्रै एकजनाको कलेजो प्रत्यारोपण गरिरहेको र यसलाई सकेसम्म नियमित बनाउने प्रयासमा जुटिरहेको डाक्टर भण्डारीको भनाइ छ। त्रिवि शिक्षण अस्पतालमा १८ जेठमा पहिलो कलेजो प्रत्यारोपण भएको थियो। त्यसपछि ३ साउनमा दोस्रो र १ कात्तिकमा तेस्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो।

पहिलो प्रत्यारोपणमा छोरीले बाबुलाई कलेजो दिएकी थिइन, दोस्रो प्रत्यारोपणमा ज्वाइँले ससुरालाई, तेस्रो प्रत्यारोपणमा छोराले बाबुलाई र यो चौथो प्रत्यारोपणमा पुनः छोरीले बाबुलाई कलेजो दान गरेका हुन्। कलेजो प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा करीब २५ लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ। परिवारभित्रको र नजिकको नातेदारले मात्र कलेजो दान गर्न सक्नेछन्। १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।