अख्तियारलाई ‘ओली आयोग’ बनाइयो : कांग्रेस

काठमाडौं,नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’ बनेको आरोप लगाएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार वालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि यस्तो आरोप लगाएको हो।

‘अख्तियार अब अख्तियार आयोग बनेन् यो ओली आयोग भइसक्यो,’ संसदीय दलका एक नेताले भने। बैठकमा सभापति शेरबहादुरले नेकपा र सरकारले कांग्रेसमाथि आक्रमण गरेको उनले बताए। ‘बैठकमा कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, उपनेता विजयकुमार गच्छदारले सरकार र नेकपाले कांग्रेसमाथि आक्रमण गरेको भनाई राख्नुभयो,’ देउवा र गच्छदारलाई उदृत गर्दै ती नेताले भने। त्यस्तै कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अबरुद्ध गर्ने जनाएको छ।

यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अबरुद्ध गरेको थियो। कांग्रेसले गच्छदारमाथि मुद्दा दायर भएपछि विरोधमा भ्रातृसंस्था मार्फत सडकमा विरोधको कार्यक्रम चर्काउने निर्णय बिहीबार नै गरिसकेको छ। कांग्रेसले आज १ बजे माइतीघरमा विरोध प्रदर्शन आयोजना गरेको छ।