जाजरकोटमा प्रहरीले १७ वटा छाउँगोठ भत्कायो

जाजरकोट, नेपाल प्रहरीको एक टोलीले जिल्लाको जुनीचाँदे गाउँपालिका–४ लुहादहका विभिन्न टोलमा १७ वटा छाउँगोठ भत्काएको छ । ईलाका प्रहरी कार्यालय गर्खाकोटका प्रहरी नायव निरिक्षक तुलबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले १७ वटा छाउँगोठ भत्काएको हो ।

उक्त प्रहरी टोलीले स्थानीय नागरिक, राजनैतिक दलका प्रतिनीधि, नागरिक समाज, आमा समुह, बुद्धिजीवि र समाजसेवीको सहयोगमा त्रुटी रहित तरिकाले १७ वटा छाउँगोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा रहेको छाउपडी प्रथा उन्मुलन संघले यो भन्दा पहिला बसेको बैठकले छाउपडी प्रथालाई निरन्तरता दिनेहरुको पहिचान गरि त्यस्ता कृयाकलापमा संलग्ने हुनेलाई सरकारबाट प्रवाह गरिने सेवा सुबिधा (बृद्धाभत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्ता) तत्काल रोक्का गर्ने निर्णय गरेको थियो ।

बैठकले सामाजिक कुरिती, बेथिती र अन्ध विश्वासका रुपमा रहेको छाउपडी प्रथा लगाएत विभिन्न सामाजिक अपराध, महिला तथा बालबालिका माथि गरिने हिंसा, महिला अधिकार माथिको चरम अवहेलना जस्ता विकृतिहरु न्युनिकरण गर्नका लागि चेतनामुलक कार्यक्रम संचालन गर्न जिल्लाका सबै पालिकालाई अनुरोध गर्नुको साथै चेतनामुलक कार्यक्रमलाई सफल बनाउन संचारकर्मीहरुलाई अनुरोध गर्ने निर्णय गर्नै निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता–२०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहार विरुद्धको कानुनी व्यवस्था सम्बन्धि रोकारवालासंगको समन्वय र सहकार्यमा जिल्ला सरकारी वकिल कार्यालयलाई व्यापक सचेतनामुलक कार्यक्रम संचालन गर्न बैठकले निर्णय गरेको थियो ।

छाउपडी प्रथाका साथै भेदभाव तथा अपमाजन व्यवहार विरुद्ध प्रभावित क्षेत्रका समुदायमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम संचालन गर्न जिल्ला प्रहरी कार्यालय, जाजरकोटलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको थियो । सम्बन्धित समुदाय र स्थानीयहरुको सहकार्यमा छाउगोठलाई नष्ट गर्ने, महिनावारी भएका महिलाहरुलाई छाउगोठमा जान बाध्य पार्ने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउने बैठकले निर्णय गरेको थियो ।