वुहानबाट नेपालीलाई अविलम्ब उद्धार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री , गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्ध सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइनमा राख्ने व्यवस्था अविलम्ब गर्न निर्देशन दिएका छन् ।

शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उनले बैठकमा निर्देशन दिएका थिए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए ।