वुहानबाट नेपालीलाई ल्याउन अझै एक साता लाग्‍ने

काठमाडौं, चीनबाट नेपाली ल्याउन अझै एक हप्ता लाग्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका भए पनि सम्पूर्ण तयारी गर्नको लागि अझै केही दिन लाग्‍ने भएको हो।

प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले नोवल कोरोना भाइरस प्रभावित चीनको हुवेइ प्रान्तको वुहानमा उद्धारको प्रतीक्षामा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन एक साता समय लाग्ने भएको हो।

चीनबाट नेपाली ल्याउने विषयमा बुधबार बसेको उच्चस्तरीय बैठकले बिहीबार ल्याउने निर्णय गरे पनि त्यसको सम्पूर्ण व्यवस्थापन मिलाएर नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउन कम्तिमा सात दिन लाग्‍ने निस्कर्ष निकालिएको हो।

सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने तयारी गरे पनि त्यसको सम्पूर्ण तयारी गर्न कम्तिमा एक हप्ता लाग्‍ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो। ‘एकै पटक१८० जनाको उद्धार गर्नुपर्ने छ, यसमा स्वास्थ्यको मात्र कुरा भएन, त्यसका लागि नेपाल बायुसेवा निगमको २७४ विमान लैजाने कुरा छ, त्यसको लागि त्यसको चार्टर गरी सेड्युल मिलाउन कम्तिमा तीन दिन लाग्‍ने छु स्रोतले भन्यो, ‘यहाँ बेड, खाना, पोशाकलगायतका सबै व्यवस्थापन गर्नु पर्छ त्यसले गर्दा अझै एक हप्ता लाग्न सक्छ।‘

विद्यार्थीलाई यसरी ल्याइने छ !

नेपालीको उद्धार गर्न नेपाल बायूसेवा निगमको २७४ सिटे एयरबस चीन पठाउने योजना अघि सारिएको छ। त्यसमा क्रु मेम्बरबाहेक प्रोटेक्टिभ पोशाक लगाएका केही स्वास्थ्यकर्मीहरू पनि जानेछन्। जहाजको पछाडिको भागमा केही सिट आइसोलेसन जस्तो बनाइनेछ। यात्राका क्रममा कोही बिरामी भइहाल्यो भने जहाजको पछाडिको भागमा रहेको त्यही सिटमा राखेर उपचार गर्ने योजना सरकारको छ।

जहाजका क्रु मेम्बरलाई चीनबाट फकर्नेहरूसँग सकेसम्म सम्पर्क हुन दिइनेछैन। यद्यपि उनीहरू पनि सुरक्षित पोशाक लगाएरै जानेछन्। करीब सात घण्टा लामो उडानका क्रममा चाहिने खाना तथा पानीलगायतका वस्तुहरू हरेकको सिटमा पहिले नै राखिने योजना सरकारले बनाएको छ। नेपाल अवतरण गरिसकेपछि पार्किङ गर्ने स्थान पनि छुट्टै हुनेछ। आएका १८० जना नेपालीको त्यहाँ परीक्षण हुनेछ। विरामीहरूलाई छुट्टै बाटो एम्बुलेन्समा अस्पताल लगिन्छ।

अन्यलाई सुरक्षित साधनमार्फत राख्‍ने स्थानमा लगिनेछ। चीनबाट उद्धार गरी ल्याउने १८० जना नेपालीलाई १७ दिनसम्म क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ। रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरूलाई घर जान दिने योजना अघि सारेको छ।