वडा अध्यक्ष हत्याको अनुसन्धान सुरु

अछाम, अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौं देखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुर सहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।

मङ्गलबार बिहान देखी मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङ सहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा ३ र धनगढीबाट एउटा कुकुर सहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा ६ जना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीले वताए ।

त्यस्तै, अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेका बताइएको छ । मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीले वताए ।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृत अवस्थामा भेटिएका थिए । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।