वडा अध्यक्ष हत्याको अनुसन्धान सुरु
अछाम, अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौं देखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुर सहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।
मङ्गलबार बिहान देखी मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङ सहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा ३ र धनगढीबाट एउटा कुकुर सहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा ६ जना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीले वताए ।
त्यस्तै, अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेका बताइएको छ । मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीले वताए ।
मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृत अवस्थामा भेटिएका थिए । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

