जिपको ठक्करबाट ठेला चालकको मृत्यु

भद्रपुर, बोलेरो जिपको ठक्करबाट झापामा ठेला चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बस्ने ६० वर्षीय बलबहादुर दर्जी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शिवसताक्षीको दुधे सडक खण्डमा सोमबार राति समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरो जिपले सोही दिशातर्फ जाँदै गरेको ठेला भ्यानलाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका ठेला चालक दर्जीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको हो । यता इलाका प्रहरी कार्यालय झिलझिलेले बोलेरोसहित चालकलाई नियन्त्रणमा लिएको छ।